ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न गुरुङ पक्राउ

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।

१५ साउन, काठमाडौं । गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *