पर्सामा परालको थुप्रोभित्र लुकाएर राखिएको गाँजा बरामद

प्रहरीका अनुसार शुक्रबार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीनवटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए।

वीरगन्ज : पर्साको पकहाँ मैनपुर गाउँपालिका-२ सुर्जाहामा परालभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। परालको थुप्रोभित्र लुकाएर राखिएको ४० केजी गाँजा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक  गौतम मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार दिउँसो परालधनीले पराल निकाल्ने क्रममा परालको थुप्रोभित्र गाँजाको तीनवटा पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले परालको थुप्रोबाट तीनवटा पोकामा रहेको ४० केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।

मिश्रका अनुसार परालको थुप्रोबाट बेवारिसे अवस्थामा बरामद गाँजा कसले र किन राखेको भन्ने खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको मिश्रले बताए। बरामद गाँजा इलाका प्रहरी कार्यालय पोखरियाले परीक्षण गरेर नष्ट गर्ने प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *