तीर्थयात्री बोकेको गाडी हलेसीमा दुर्घटना : १ जनाको मृत्यु, १६ घाइते
उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानकारी छ ।
प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।
चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको श्रेष्ठले बताए । उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानकारी छ ।
उनका अनुसार दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किँदै गरेको गाडी दुघटनामा परेको हो ।