कानुनमन्त्रीको प्रष्टीकरण : बहुविवाहलाई वैधता दिने चर्चा झुटो
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ ।
२१ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् ।
‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भने ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ ।
तर, कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार प्रकाशन भएपछि आलोचना भइरहेको थियो ।
यसबारे सदनमा पनि कुरा उठेपछि कानुनमन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन नगरिने बताएका हुन् ।