सञ्जीवनी मेडिकल कलेजविरुद्ध प्रहरीमा ठगीको जाहेरी
कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले बताएको छ ।
२३ साउन, काठमाडौं। स्याङ्जाका मेडिकल व्यवसायी खुमा आर्यलको मेडिकल कलेजविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
नेपालगञ्जमा रहेको अर्यालयको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको हो । बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जाहेरी आएको पुष्टि गरे । ‘सञ्जीवनी मेडिकलविरूद्ध जाहेरी परेको छ । दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’ पातलीले भने ।
यो मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले बताएको छ ।
यो मेडिकल कलेजविरुद्ध करन बर्मा नाम गरेका बाँकेकै एक युवाले जाहेरी दिएका हुन् । यसअघि उनले दिएको जाहेरी प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्मले दर्ता गरेका थिए । त्यसपछि उनी अदालत पुगेका थिए ।