राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी

कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।

२८, साउन २०८२ ।कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक शुरू हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।

कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।

छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडाका बारेमा भनेको छ, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२/०२/१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।’

प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेश भएको देखिँदा कानुनत: हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’ भन्ने पनि प्रतिवेदनमा छ ।

त्यस्तै समिति सचिव दुराबारे छानबिन समितिको प्रतिवेदनले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेखे समेत भूमिका रहेको देखिँदा परिभाषित जिम्मेवारी पूरा गरेको भन्न सकिएन ।’

मुख्यसचिव लगायत अन्यको कर्मचारीको हकमा प्रतिवेदनले ‘कुलिङ अफ पिरियड को विषय हटाउन समूह बनाई सार्वजनिक रूपमा लबिइङ गर्दै हिंड्नु परिभाषित जिम्मेवारी भएका पदाधिकारीहरूको पदीय आचरण मान्न सकिन्न भनेको छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको ‘कुलिङ अफ पिरियड’ का विषयका सम्बन्धमा सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय नदेखिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *