शिक्षा, निजामती र नागरिकतासहित ५ विधेयक पारित गर्न संसद्को तालिका तय
एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, भदौ १८ गते बस्ने प्रतिनिधिसभाको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ ।
१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने संसद्को तालिका तय गरिएको जानकारी दिए ।
उनका अनुसार, शुक्रबार प्रतिनिधि सभाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्नेछ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार, भदौ १८ गते बस्ने प्रतिनिधिसभाको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ । सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।
गत साउन ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता गरेका थिए ।