एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल (करिब २०० किमि टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किमि टाढा) समेत हल्लाएको थियो ।
प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन्।
तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन् ।
उनका अनुसार, उद्धार कार्य हवाई मार्गमार्फत मात्र गर्न सकिने अवस्था छ । तालिबान अधिकारीहरूले आफ्ना स्रोत सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन्।
भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीसी) ले यो भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।
तालिबान सरकारका धेरै स्रोतहरूका अनुसार दर्जनौँ घर भग्नावशेषमुनि पुरिएका छन् र अहिले सयौँ मानिस मारिन सक्ने वा घाइते हुन सक्ने डर छ।