अपडेट : गोंगबुको घरमा बरामद रकम सवा चार करोड नगद र नौ किलो सुन
काठमाडौं महानगरपालिका -२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
१८ भदौ, काडमाडौं । गोंगबुस्थित बिनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले चार करोड २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। त्यस्तै,उनको घरमा करिब नौ किलो सुन र तीन किलो चाँदी पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले मंगलबार साँझ छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर खनालले बताए ।
उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।
काठमाडौं महानगरपालिका -२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
एसएसपी खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’
ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।