टिचिङमा उपचाररत दुईको अवस्था गम्भीर, एक जनामा मुटुको समस्या

‘दुई जना गम्भीर खालका बिरामी हुनुहुन्छ । ६ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको छ,’ रोस्याराले भने, ‘दुई जनाको शल्यक्रियाको आजको लागि तयारी गरेका छौं ।’

२४ भदौ, काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका २५ जना बिरामीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रदर्शनमा घाइते भएका सोमबार २९ जनालाई टिचिङ अस्पताल लगिएको थियो । जसमध्ये ६ जनालाई डिस्चार्ज गरिसकिएको छ ।

अस्पतालको सुचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार एक जनाको मुटुमा समस्या देखिएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ  ।

‘दुई जना गम्भीर खालका बिरामी हुनुहुन्छ । ६ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको छ,’ रोस्याराले भने, ‘दुई जनाको शल्यक्रियाको आजको लागि तयारी गरेका छौं ।’

अन्य बिरामीको शल्यक्रिया भने एक दुई दिनमा गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘ढुंगाको चोट, कतिपय गोली र लट्टीको हान्दाको चोटपटक लागेको छ । दुई जना भीडभाडमा आफैं दौडिने क्रममा लडेर चोटपटक लागेको पाइएको छ,’ रोस्याराले अनलाइनखबरसँग भने ।

त्रिविमा घाइते भएर उपचाररत भइरहेको बिरामी १६ देखि ३२ वर्षका युवा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *