अमेरिकासहित ९ देशको संयुक्त आग्रह– संयमता अपनाऊ

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिएर  शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन्। 

काठमाडौं : अमेरिकासहित ९ देशका दूतावासले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन्।

सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौंमा रहेका ९ देशका दूतावासले अपिल गरेका छन्।

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिएर  शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन्।

शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ।

ʻहामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ,ʼविज्ञप्तिमा भनिएको छ,ʻपीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।ʼ

संयुक्त राष्ट्रसंघ लगायत मानवअधिकारवादी संस्थाहरू ले जेन–जीको हत्या र घाइते भएको घटनाले स्तब्ध पारेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *