जेनजी पुस्ताको आन्दोलन : मृत्यु भएकामध्ये ४ जनाको मुटुमै लागेको थियो गोली

डा. झाले भने, ‘चार जना घाइतेहरू मुटु अगाडि नै प्वाल परेको अवस्थामा थिए । उनीहरूको निरन्तर सीपीआर गर्दा पनि बचाउन सकिएन । ’

२४ भदौ, काठमाडौं । सोमबार जेनजीहरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको घटना स्थलमा मृत्यु भएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो ।

बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाका अनुसार ती चार जनाको मुटुको अगाडि नै प्वाल परेको पाइएको छ ।

डा. झाले भने, ‘चार जना घाइतेहरू मुटु अगाडि नै प्वाल परेको अवस्थामा थिए । उनीहरूको निरन्तर सीपीआर गर्दा पनि बचाउन सकिएन । ’

उनका अनुसार अन्य आठ जनाको टाउको र शरीरका विभिन्न भागमा गोली प्रहारबाट गम्भीर चोट लागेको छ ।

उनले थपे, ‘अहिले स्टेबल अवस्थामा रहेका बिरामीहरूको उपचार जारी छ । केहीमा गोली छालामुनि अड्किएको छ, जसलाई तत्काल निकाल्दा अझै ब्लिडिङ भएर जटिलता बढ्न सक्ने भएकाले पछि मात्रै निकाल्ने योजना छ ।’

बिरामीको अवस्था हेरेर चिकित्सकको टोलीले घाइतेको शरीरबाट अहिले शल्यक्रिया गरेर गोली निकाल्ने काम गरिरहेको छ । ‘कसैको रबरको गोली छ । टाउको, छाती, मुटुको अगाडि गोली लागेको छ,’ डा. झाले भने, ‘रबरको गोली त्यति भित्रसम्म जान्छ जस्तो लाग्दैन । कुन गोली हो त्यो पोस्टमार्टमबाट थाहा हुन्छ ।’

धेरैजसोलाई रबरको गोली लागेको छ । तर दिउँसो तीन चार बजेपछि अस्पताल पुगेका घाइतेलाई पनि बुलेट गोली नै लागेको आंशका चिकित्सकको छ ।

ट्रमा सेन्टरमा वीर अस्पततालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *