वार्तामा आउन आन्दोलनरत पक्षलाई प्रधानसेनापतिको अपिल
उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।
मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’
उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन्।
प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्।