दुर्घटनामा चालक र सहचालकको अवस्था अज्ञात, सतर्कता अपनाउन आग्रह
सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ
२३ मंसिर, काठमाडौं । आइतबार बिहान धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ ।
प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका हुन् ।
धादिङ प्रहरी मकेन्द्र मिश्रले सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको जानकारी दिए ।
उनले अज्ञात अवस्थामा रहेका चालक र सहचालकको खोजी कार्य जारी रहेको बताए ।
प्रहरीले ग्यास बुलेट दुर्घटनामा परेको क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।