कांग्रेस-एमाले अलमलमा, माओवादी-रास्वपा चुनावको तयारीमा
‘माओवादीले चुनावलाई सघाउँछ’ भन्ने प्रश्नमा उपमहासचिव थप्छन्, ‘हामी सघाउँछौं । चुनाव गर्ने वातावरणका लागि मद्दत गर्छौं ।’
७ असोज, काठमाडौं । राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् । जेन–जीको आन्दोलनपछिको परिस्थितिमा युवा नेताहरू आन्तरिक छलफलमा छन् ।
आगामी फागुन २१ गतेको चुनावको तयारीका सम्बन्धमा सरकारले चरणबद्ध छलफल अगाडि बढाएको छ । तर, प्रमुख राजनीतिक दलहरू भने अलमलमै छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको पार्टीका औपचारिक छलफल नै हुन सकेका छैनन् ।
यसकाकारण दुवै पार्टीका नेताहरू एकातिर प्रतिनिधि सभा विघटनलाई असंवैधानिक रहेको तर्क गर्दै गरिरहेका छन् । अर्कोतिर चुनावका लागि सरकारको व्यवहार समेत हेरिरहेको बताउँछन् ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावको पूर्व तयारीमा लागिसकेको बताउँछन् ।
यी दुवै दलले पार्टीका पदाधिकारी र केन्द्रीय समितिको बैठकमै चुनावको पूर्व तयारीलाई एजेण्डा बनाएका छन् ।
रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभाको चुनावको तयारी एक प्रमुख एजेण्डा थियो ।
जहाँ जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले प्रतिनिधि सभामा भाग लिने रणनीतिका सम्बन्धमा धारणा राखेका छन् ।
माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन र प्रतिनिधि सभाको चुनावको तयारी एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।
पदाधिकारी स्तरमा भएको छलफलपछि बुधबारका लागि स्थायी समितिको बैठक र बिहीबारदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।
जहाँ पदाथिकारी स्तरमा तयार भएको पार्टीका सबै कमिटी भंग गर्ने र पार्टी महाधिवेशनका साथसाथै चुनावको तयारी एकसाथ अगाडि बढाउने प्रस्ताव प्रस्तुत हुनेछ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार यथास्थितिमा रहेको राजनीतिलाई जेनजी आन्दोलनले छ्यालब्याल बनाइदिएको छ ।
यो अवस्थामा तय भएको चुनाव हुनलाई सहयोग गरेर जानुको विल्कप छैन । ‘यही सरकारलाई समर्थन गरेर जाऔं । तोकेको समयमा निर्वाचन गर्न मद्दत गरौं’ शर्माले अनलाइनखबरसँग भने ।
नियमित संवैधानिक अवस्था डिरेल भएको र संविधान मुर्छित अवस्थामा रहेको उल्लेख गर्दै उनले संविधानलाई फेरि जगाउनका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।
उनका अनुसार विश्वमा हाइब्रिड वार चलिरहेको छ, शक्ति राष्ट्रहरू ध्रुविकृत भइराखेको छ । यो अवस्थामा नेपालको राष्ट्रियतालाई समेत ख्याल गरेर चुनावमार्फत् संविधानलाई जगाएर अगाडि बढ्नुको विकल्प छैन ।
‘माओवादीले चुनावलाई सघाउँछ’ भन्ने प्रश्नमा उपमहासचिव थप्छन्, ‘हामी सघाउँछौं । चुनाव गर्ने वातावरणका लागि मद्दत गर्छौं ।’