आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
ऋणी संस्थासँग जोडिएका ऋणीलाई न्यूनतम ५ प्रतिशत ब्याज रकम असुल गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ।
१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीलाई पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा दिने निर्देशन जारी गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको छ ।।
ऋणी संस्थासँग जोडिएका ऋणीलाई न्यूनतम ५ प्रतिशत ब्याज रकम असुल गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ।
‘उपर्युक्त बमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ’ निर्देशनमा भनिएको छ ।
प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा ०.५ (शून्य दशमलब पाँच) प्रतिशत विन्दु प्रिमियम मात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नु पर्नेछ ।