चितवन, धादिङ र तनहुँमा पनि रातिमा यात्रा नगर्न अपिल
पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ ।
१७ असोज, काठमाडौं । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् ।
सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ ।
तथापि, जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन, धादिङ र तनहुँमा पनि रातिमा यात्रा नगर्न अपिल गरिएको हो ।