लखनदेही खोलामा बाढी : ८ सयभन्दा बढी घर डुबानमा

बस्ती र खेतपातीमा क्षति भएपनि मानवीय क्षति अहिलेसम्म नभएको प्रजिअ श्रेष्ठले बताए। 

मलंगवा : लखनदेही खोलामा आएको बाढीले कौडेना गाउँपालिका – ३ मा बाटो बगाउँदा सदरमुकाम मलंगवाभन्दा पश्चिमको क्षेत्रमा आवागमन अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण लखनदेही खोलामा आएको बाढीले बाटो बगाउँदा पश्चिमी क्षेत्रको आवागमन ठप्प भएको छ ।

बाढीले करिब १५ मिटर जति बाटो बगाएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए। जिल्लामा बागमती, लखनदेही, झिम र बाँके खोलाले बढी प्रभावित बनाएको छ । बस्ती र खेतपातीमा क्षति भएपनि मानवीय क्षति अहिलेसम्म नभएको प्रजिअ श्रेष्ठले बताए।

बाटो बगाउँदा कौडेना गाउँपालिका, विष्णु गाउँपालिका, गोडैता नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका र बसबरिया गाउँपालिकासंगको सम्बन्ध विच्छेद भएको छ । बाढीका कारण विद्युतको पोलहरु पनि ढलेको कारण पश्चिम क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बाढीका कारण सर्लाहीका करिब ८ सयभन्दा बढी घर डुबानमा परेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *