राष्ट्रपति पौडेलले आह्वान गरेको छलफलमा कांग्रेसबाट पूर्णबहादुर र गगन सहभागी हुने
राष्ट्रपतिले बोलाएको छलफलमा दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन् ।
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय छलफलमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपतिले बोलाएको छलफलमा दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन् ।
सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेपछि दलहरूसँग चुनावी माहोल बनाउन संवाद नभएको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपति पौडेलको अग्रसरतामा सर्वपक्षीय छलफल हुन लागेको हो ।