विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो, प्रसाईंलाई सीआईबी लगियो
व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको
२४ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।
प्रसाईंलाई सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । अब उनलाई सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।
सीआईबीले प्रसाईंलाई ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए । प्रसाईंलाई साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि सीआईबी लगिएको हो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।
व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
प्रसाईंले हाल सीआईबीको हिरासतमा रहेका झापाकै हरिचन्द्र फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको समेत खुलेको छ । सीआईबीका एआईजी दीपक थापाले ५ लाख रुपैयाँ दिएको पुष्टि भएको बताए ।
प्रसाईंले सोझै फुयाललाई ५ लाख नदिई अर्का व्यक्तिमार्फत दिएको अनुसन्धानबाट खुलेको छ । एआईजी थापाले ‘भारत बसेर धम्क्याउनका लागि बस्न खान र खर्च भन्दै प्रसाईंले ५ लाख पठाएको देखिन्छ । उक्त रकम अर्का व्यक्तिमार्फत फुयालले बुझेको खुलेको छ,’ बताए ।
एक अनुसन्धान अधिकृतले धम्क्याएवापत प्रसाईंबाट आफूले रकम पाएको हिरासतमा रहेका फुयालले समेत स्वीकार गरेको बताएका छन् ।
धम्क्याए वापत प्रसाईंले रकम नै दिने भएपछि फुयाल तयार भएर भारतमा गएर फोन गर्दै धम्की दिएको सीआईबीको निष्कर्ष छ ।
सीआईबीका एआईजी दीपक थापाले ६ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए ।