सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि रहेको बताइन्। 

काठमाडौं : प्रधानमन्त्री  सुशीला कार्कीले आगामी निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आग्रह गरेकी छन्। छठको शुभकामना दिँदै उनले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी छन्।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उनको भनाई छ। प्रधानमन्त्री कार्कीले आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि रहेको बताइन्।

‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ- आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ। सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन।’ कार्कीले भनिन्, ‘आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो। यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’

छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उनको भनाई छ। उनले अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताइन्।
‘सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई, पहाड, हिमाल जोड्ने सेतु बनिरहेको छ।पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *