ट्रम्प र सीबीचको वार्तामा उठेन ताइवान मुद्दा, दुवै नेताले एकअर्को देशको भ्रमण गर्ने
ट्रम्पले चीनसँगको ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्त्व र धातु) व्यापार विवाद समाधान भएको बताए। उनले भने,ʻअब चीनबाट कुनै अवरोध छैन।
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स बनमा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे प्रतिक्रिया दिएका छन्। उनले करिब १५ मिनेटसम्म प्रश्नको जवाफ दिए। तर चीनसँग भएको सम्झौताबारे थप विवरण भने दिएनन्।
ट्रम्पले चीनसँगको ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्त्व र धातु) व्यापार विवाद समाधान भएको बताए। उनले भने,ʻअब चीनबाट कुनै अवरोध छैन।
महत्त्वपूर्ण दुर्लभ पृथ्वी खनिजको प्रशोधनमा चीनको एकाधिकार छ। चीनले हालसालै यसको निर्यातमा आफ्नो नियन्त्रण बढाएको छ।
तर सम्झौता अन्तर्गत के–के कुरामा सहमति भएको छ भन्नेबारे ट्रम्पले कुनै जानकारी दिएका छैनन्।
ट्रम्पले अमेरिकाले चीनबाट आउने सबै सामानमा तुरुन्तै कर घटाउने बताए। यी कर पहिले फेन्टानिलसँग सम्बन्धित रसायनको आपूर्तिमा लगाइएको थियो।
ट्रम्पले युक्रेनमा चलिरहेको युद्धमा अमेरिका र चीनले सँगै काम गर्ने पनि बताए। तर दुई नेताबीच ताइवानको मुद्दा उठेन।
ट्रम्पले वार्तालाई अत्यन्त सफल र महान् बैठक भनेका छन्। उनले अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्ने बताए यस्तै सी जिनपिङले आफ्नो भ्रमणपछि संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने पनि उनले बताए।