विद्याको सदस्यताबारे ओलीको जबाफ– फोन गर्नुभएको रहेछ, कल ब्याक गर्छु

‘उहाँले फोन गर्नुभएको रहेछ। व्यस्तताका कारण उठाउन पाइनँ। कल ब्याक गर्छु,’ उनले भने।

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे अझै छलफल गर्नुपर्ने बताएका छन् ।

ओलीकै निवास गुन्डुमा आज बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यताबारे नेताहरुले कुरा उठाएका थिए । ‘ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरूले विद्या भण्डारीको सदस्यताबारे कुरा उठाउनुभयो,’ बैठक स्रोत भन्छ, ‘तर आज पनि कुनै निर्णय हुन सकेन ।’

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता दिइने संकेत गरेका छन्। केन्द्रीय कमिटी बैठकमा झन्डै ५० जना केन्द्रीय सदस्य विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए। गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै पार्टी फर्कन रोक लगाएको थियो।

त्यसविरूद्ध उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले नोट अफ डिसेन्ट राखेका थिए। बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका पदाधिकारी नै भण्डारीको सदस्यता नवीकरणका पक्षमा उभिएका थिए।

त्यसको जबाफ दिँदै अध्यक्ष ओलीले भण्डारीले आफू केन्द्रीय कमिटी बैठकमै रहँदा फोन गरेको र व्यस्तताका कारण कुराकानी हुन नपाएको प्रसंग जोडेका थिए।

‘उहाँले फोन गर्नुभएको रहेछ। व्यस्तताका कारण उठाउन पाइनँ। कल ब्याक गर्छु,’ उनले भने।

पोलिटब्युरो सदस्य कृष्ण राईले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता पाउने बताएको जानकारी दिए।

‘पहिले पनि अध्यक्ष केपी शर्मा ओलीले निवेदन दिए विद्या भण्डारीले सदस्यता पाउने भन्नुभएको थियो। अहिले पनि त्यस्तै संकेत गर्नुभएको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *