दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

प्रसाईंका छोरा निराजन प्रसाईंले बुवालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

काठमाडाैं- राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंमाथि दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। रिटको सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुने छ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित बन्दी प्रस्तुत गर्न आदेश दिएको थियो। प्रसाईंका छोरा निराजन प्रसाईंले बुवालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

प्रसाईंलाई गत सोमबार मध्यराति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। शान्तिविरुद्धको कसुरमा पक्राउ परेका उनी अहिले प्रहरी हिरासतमा छन्।

त्यसअघि उनले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाएका थिए र फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरिसकेका छन् र त्यही तयारीका बीच उनी पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *