अदालतले बिर्तामोडका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न दियो अनुमति
घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप
२५ मंसिर, काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको बताए ।
प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।
तर, त्यसको बहानामा उनले पटकपटक जबरजस्ती करणी गरेको आरोप छ ।
बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।
अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो ।