अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०:१५ बजे दुर्घटना भएको हो।

काठमाडौं : अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा  व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो।

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०:१५ बजे दुर्घटना भएको हो। स्थानीय तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान रनवेमा आगोले घेरिएको अवस्था देखिएको छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानका लागि टोली पठाइरहेको र शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक जानकारी दिने भएको छ।

दुर्घटनामा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्।

परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनिय र गहिरो पिडा दिएको उल्लेख गरिएको छ। ग्रेग बिफल र उनको परिवारसँगै विमानमा थप तीन जना यात्रु पनि सवार थिए।

उनीहरू डेनिस डटन, उनका छोरा ज्याक डटन तथा ‘नास्कार’ समुदायका लामो समयदेखि सक्रिय सदस्य क्रेग वाड्सवर्थ रहेको परिवारको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *