एम्बुलेन्समा गाँजा तस्करी : गोली हानेर दुईजना पक्राउ
एम्बुलेन्स खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए।
विराटनगर : गाँजा लोड गरिएको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले मोरङमा आइतबार राति गोली चलाएको छ।
केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजेतिर १६ पोका गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।
धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समार्फत गाँजा ल्याइँदैछ भन्ने सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली परिचालन गरिएको थियो। इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई शंकास्पद अवस्थामा देखेर रोकेको थियो।
प्रहरीले दुवै जनालाई गोली चलाएर भए पनि नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्।
एम्बुलेन्स खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए। गाँजाको तौल लिन बाँकी रहे पनि प्रारम्भिक अनुमान अनुसार ४ सय ८० किलोभन्दा बढी रहेको प्रहरीको भनाइ छ। नियन्त्रणमा लिइएको एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता भई सञ्चालनमा रहेको पाइएको छ।