दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए
१६ पुस, काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको जनाइएको छ ।
स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।
उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् ।
युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनपटक बोलाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।
वारेन्ट मार्फत अदालतले अन्वेषकहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ। आइतबार राती अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए।
मार्शल लको घोषणापछि दक्षिण कोरिया हाल राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारीलाई महाभियोगमार्फत हटाइएको छ।