गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनुपर्छ : देउवा
उनले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गरे
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं पार्टीको सयदिने विशेष अभियान समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ। गणतन्त्र स्थायी रहन्छ, यसलाई सुदृढ बनाउनुपर्छ। अहिले सम्पूर्ण नेपाली जनताको एकता नै मेलमिलाप हो।’उनले भने,‘चाहे हिमालमा हुन्, पहाड र मधेशमा हुन्, चाहे पूर्व हुन् चाहे पश्चिममा हुन् एकता कायम हुनुपर्छ। चाहना फरक होलान् त्यसमा समन्वय गर्नुपर्छ।’
उनले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गरे। देउवाले भने,‘नेपाली कांग्रेसका लागि मात्र होइन, देशका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, यसमा कांग्रेसले अग्रसरता लिनुपर्छ।’
सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेकामा उनले जोड दिए । “सम्पूर्ण नेपालीहरू चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरूको एकता र मेलमिलाप हुनुपर्छ,” उनले भने ।
सभापति देउवाले कांग्रेसलाई मात्र नभई देशभरका सबै नागरिकका निम्ति नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।