नेपाल यूएईलाई हराउँदै यु१९ महिला विश्‍वकपमा छनोट


२८ कात्तिक, काठमाडौं ।बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक आगामी वर्ष हुन लागेको आईसीसी यु१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाएकी छिन्। त्यस्तै गरि रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका छन्।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् भने उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २(२ विकेट लिए भने रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु१९ महिला टी२० नेपालले विश्वकप खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *