रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्


२८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका हुन् ।

बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्। उनीविरुद्ध बुटवलको सुप्रिम, चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन्।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *