ओभरलोडले दुम्किबास पुल भाँचिएको आरोप
पुल भाँचिएको घटनामा ट्राफिक प्रहरी दोषी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले आरोप लगाएको छ
२८ पुस, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको पुल भाँचिएको छ ।
पुल भाँचिएपछि यातायात ठप्प भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
बुटवल–नारायणगढ खण्डको दुम्किबासमा दुई दिनअघि (पुस २६ गते) भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको घटनामा ट्राफिक प्रहरी दोषी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले आरोप लगाएको छ ।
पुस २६ गते दिउसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पुर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । उक्त भारतीय ट्रकले शिवम सिमेन्ट उद्योगको हेभी जेनेरेटर मेसिन बोकेको थियो ।
मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ ( संशोधन २०७४) अनुसार ठाउँ ठाउँमा भार मापन गरेर मात्र सवारी साधन चल्न दिनुपर्ने नियम प्रभावकारी कार्यान्वयन नहुँदा ओभरलोडका कारण पुल भाँचिन गएको महासंघको दाबी छ ।
उक्त घटनाप्रति ध्यानाकर्षण जनाउँदै महासंघले ट्रक व्यवसायीहरुले वर्षौंदेखि भारतीय मालवाहक सवारी साधनबाट भइरहेको ओभरलोड ढुवानी रोक्नुपर्ने माग गर्दै आए पनि राज्यका निकायले बेवास्ता गर्दा नेपालका सडक र पुल पुलेसामा क्षति हुने गरेको उल्लेख गरेको छ।