रुस-युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन्
२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् ।
आजको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको छ । ‘कूटनीतिक पत्रमार्फत् युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई नेपाली युद्धबन्दीको रिहाइका लागि अनुरोध गरेको,’ मन्त्री राणाले समितिको बैठकमा भनिन् ।
रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ । युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरु अहिलेसम्म पाँच जना रहेको पुष्टि भएको छ ।
मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, मोरङ लेटाङका विकास राई, बर्दिया राजापुरका विवेक खत्री र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी छन् ।
कतिपय नेपालीहरु युद्धमा मारिएका छन् । उनीहरुको शव नपाउँदा आफन्तले कुशको शवको प्रतीक बनाएर अन्तिम संस्कार समेत गरेका छन् ।