रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन्
२९ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई पर्सि (बुधबार) अदालतमा पेस गर्न आदेश दिएको छ।
यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।
प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ।