यो सरकारको आयु चाहिँ धेरै छैन, यो ढल्नु नै छ : प्रचण्ड

सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ


१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पारेका छन् । प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे ।

सिन्धुपाल्चोकको सुकुटेमा आज मंगलबार पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे । ‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ प्रचण्डले भने ।

सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिरसमेत अध्यक्ष दाहालले गरे ।

सरकारलाई असंवैधानिक,अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे,‘दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरिह सरकार हो ।’

संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे । उनले दबाबमार्फत् राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे ।

‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहानुहुन्थ्यो । तर, उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *