युद्धविराम सम्झौतामा इजरायल र हमासले के भने?

युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ गर्ने छैनौं


३ माघ, काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबीच भएको सम्झौतामा दुवै पक्षबाट प्रतिक्रिया आएको छ।

१५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।

हमासका प्रमुख वार्ताकार खलील अल –हय्याले भने, ‘युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ गर्ने छैनौं। सबै पीडितहरूको रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसु हामी बिर्सने छैनौं।’

उनले इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताए।

पहिलो चरणमा सुरुमा इजरेली बन्धकहरुलाई छाडिने छ भने त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रहने छ ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएकावेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।

यो सम्झौताले लाखौं विस्थापित गाजावासीहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ ।

७ अक्टुबर २०२३ मा इजरायल र हमासबीच युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *