विपक्षी दलको बैठक बस्दै, आजै संयुक्त पत्रकार सम्मेलन
विपक्षीको साझा धारणालाई आज सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो
४ माघ, काठमाडौं । आज विपक्षी दलहरूको बैठक बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक तय भएको छ। बैठकपछि विपक्षी दलले आजै नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होल्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा विपक्षी दलको बैठक बसेको थियो। बैठकले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित दुई सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको ड्राफ्ट तयार गर्न जिम्मेवारी दिएको थियो। सोही कार्यदलले तयार पारेको विपक्षीको साझा धारणालाई आज सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो।
बैठकले सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिने र संसद् बैठक आश्वानका लागि दबाब दिने निर्णय गरेको थियो।
यस्तै बैठकले संसद अधिवेशन बोलाउन आलटाल गरेको,संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरेको,दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षडयन्त्र भएको निष्कर्ष निकाल्दै सत्ता पक्षमा रहेका साना दलहरूको साथ लिएर सरकारविरुद्ध संयुक्त मोर्चाबन्दीमा जाने निर्णय गरेको थियो।