ताप्लेजुङको पाथिभरा घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद
छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ

१५ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ घटनाबारे छलफल गर्न ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ ।
ताप्लेजुङको पाथिभरामा ‘नो केबलकार समूह’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।
ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् ।प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् ।
केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको घोषणा गरेका छन् ।