रविसहित १५ जनाविरूद्ध ठगी र संगठित अपराध कसूरमा मुद्दा दर्ता
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ

२२ माघ, काठमाडौं । चितवनको सहारा बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा रवि लामिछानेसहित थप १५ विरुद्द मुद्दा दायर भएको छ ।
चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरक सहित मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए।
रवि लामिछाने,रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल , विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ मुद्दा दर्ता भएको छ ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ ला र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ ।