ट्रम्पद्वारा ट्रान्सजेन्डर ‘एथलीट’लाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध

ट्रम्पले दर्जनौं बालबालिका र महिला खेलाडीहरूले घेरिएको ह्वाइट हाउसमा उक्त आदेशमा हस्ताक्षर गरेका हुन्


२४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्रान्सजेन्डर एथलीटलाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले दर्जनौं बालबालिका र महिला खेलाडीहरूले घेरिएको ह्वाइट हाउसमा उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।

उनले हस्ताक्षर गर्नुअघि भने, ‘अबदेखि महिला खेलकुद महिलाहरूको लागि मात्र हुनेछ। यो कार्यकारी आदेशसँगै महिला खेलकुदमाथिको युद्ध समाप्त भएको छ।’

ट्रम्पले महिला एथलीटहरूको गौरवशाली परम्पराको रक्षा गर्ने बताए। पुरुषहरूलाई महिला र केटीहरूलाई कुटपिट गर्न, घाइते बनाउनका साथै धोका दिन अनुमति नदिने उल्लेख गरे।

ट्रम्पको अमेरिकी सरकारी एजेन्सीहरूलाई महिला टोलीहरूमा ट्रान्सजेन्डर खेलाडीलाई प्रतिस्पर्धा गर्न अनुमति दिने विद्यालयहरूलाई अनुदान नदिन आदेश दिएका छन्।

ट्रम्पले २०२८ को लस एन्जलस खेल अघि ट्रान्सजेन्डर खेलाडीहरू सम्बन्धी नियमहरू परिवर्तन गर्न अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC)  लाई दबाब दिने पनि बताए।

ट्रम्पले होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्टी नोएमलाई महिला खेलाडी बनेर संयुक्त राज्य अमेरिकामा छलकपटपूर्वक प्रवेश गर्ने प्रयास गर्ने पुरुषहरूले गरेको भिसा आवेदनहरू अस्वीकार गर्न निर्देशन दिएका छन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुबाटै बारम्बार तेस्रो लिंगीलाई लक्षित गरेर विभिन्न निर्णय गरेका छन् । आफ्नो उद्घाटन भाषणमा ट्रम्पले अमेरिकी सरकारको नीतिले केवल दुई लिङ्ग, पुरुष र महिलालाई मात्र मान्यता दिने बताएका थिए।

यसअघि ट्रम्पले सेनामा ट्रान्सजेन्डर नराख्ने पनि निर्णय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *