प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन् ।
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा मन्त्रिहरुले विधेयक छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा बोल्दैछन् ।
तर, प्रतिनिधि सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोल्दा प्रधानमन्त्री ओली अनुपस्थित रहने भएका छन् । किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन् ।
यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।
प्रधानमन्त्री आउँदै छन् होला भनेर प्रचण्ड आफ्नो भनाइमा अगाडि बढेका थिए । तर, त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन् । सो समयमा प्रधानमन्त्री ओलीले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो ।