एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए।

३ चैत, काठमाडौं । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको बताए।
एम्बुलेन्स दुर्घटनामा परेको जानकारी पाउनसाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज भुवन श्रेष्ठ नेतृत्वको टोलीले गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो। इन्स्पेक्टर लम्सालका अनुसार अस्पताल पु¥याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए। उनका अनुसार एम्बुलेन्स कहाँबाट कहाँ गएको थियो भन्ने खुल्न सकेको छैन। एम्बुलेन्समा चालक मात्रै रहेको लम्सालले बताए।
दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने जनाउँदै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।