पूर्वविशिष्टको सेवा सुविधाबारे सांसदले मागे सरकारको जवाफ
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिए ।

३ चैत, काठमाडौं । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । देशका जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ ।
आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले यसबारे सरकारको जवाफसमेत मागेका छन् ।
पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानुन बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने कांग्रेस सांसद रामकृष्ण यादवले बताए । ‘पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागेको भन्ने समाचार सही गलत के हो सभामुखमार्फत् नेपाल सरकारबाट जानकारीका लागि अनुरोध गर्दछु ,’ उनले भने ।
नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गरे ।
सांसद पौडेलले देश ग्रे लिस्टमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकांकमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गरे । त्यसको साटो जनताको पक्षमा प्रभावकारी काम गर्न उनले ध्यानाकर्षण गराए ।
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिए । राजनीति सेवा भएको भन्दै उनले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताए । ‘पूर्वविशिष्टको सेवा सुविधा बढाउने निर्णय सरकारले फिर्ता लियोस् र यस सम्बन्धी विधेयक नल्यायोस्,’ उनले भने ।
अहिले वर्तमान पदाधिकारीको सुविधा घटाउने बेला भएको भन्दै उनले सांसदहरुको समेत सुविधा घटाउन प्रस्ताव राखे ।