साँझको समयमा लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री खड्का
निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे।
६ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने अवस्था आएको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताए।
‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’
निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे। उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे।
उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको बताए। बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए।