दलितको घरमा डोजर लगाउने पालिका अध्यक्ष प्रहरी नियन्त्रणमा
गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।

९ चैत, काठमाडौं । महायज्ञको नाउँमा दलित डोम परिवार दीपक मरिकको परिवारलाई उठीबास गरेको आरोपमा सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादव प्रहरीको नियन्त्रणमा छन्। गाउँपालिका अध्यक्ष शिवजी र दिलीप मेला समितिका पनि अध्यक्ष र सचिव हुन्।
सिरहाका एसपी रमेश पण्डितका अनुसार उनीहरूलाई सोधपुछका नियन्त्रणमा लिएको जनाएको छ। चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउने स्थल छेउमा मरिक परिवारको घर थियो। दलित भएर अशुभ हुन्छ भनेर उनीहरूको घर नै ५ सय मिटर पर सारिएको थियो।
महायज्ञ लगाउन करिब १२ कठ्ठा ऐलानी जग्गामा मूर्ति र यज्ञहोमका लागि घर टहरा बनाउन थालेका थिए। त्यही ठाउँसँग टाँसिएको दीपक मरिकको घर थियो। महायज्ञ हुने ठाउँमा दलितको घर हुँदा शुभ नहुने भन्दै घर सारिएको छ।
दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।