कैलालीको जंगल क्षेत्रमा बसिरहेका विदेशी नागरिक फर्किन अटेर
जङ्गलमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकहरुलाई २४ घण्टाभित्र फर्किन स्थानीय प्रशासनले निर्देशन दिए पनि उनीहरुले अटेर गरेका छन् ।

११ चैत, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब १५० जना विदेशी नागरिक अनुमति बिना बसिरहेको पाइएको छ। इजरायल, यूके, रुस, स्वीडेन, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, आइभरिकोस्ट, ग्रिस, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, चीन, स्पेन लगायत १८ देशका नागरिक बिना अनुमति वन क्षेत्रमा बस्दै आएको खुलासा भएको हो।
जङ्गलमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकहरुलाई २४ घण्टाभित्र फर्किन स्थानीय प्रशासनले निर्देशन दिए पनि उनीहरुले अटेर गरेका छन् ।
दुई हप्ता अगाडिदेखि सामूहिक रुपमा बस्दै आएकाहरुमध्ये केही फर्किए पनि अझै करिब ६० जना त्यहीँ बसिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०∕ ७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन्,’ प्रजिअ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’
उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू त्यहाँ अर्धनग्न भएर बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् ।
विदेशी नागरिकहरु जंगल क्षेत्रमा बसेर ‘अस्वाभाविक’ गतिविधि गर्दै आएको सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल उनीहरु बसेको ठाउँमै पुगेर २४ घण्टाभित्र जंगल छाड्न भनेका थिए । तर उनीहरुले निर्देशन अटेर गरेका छन् ।
उनीहरु फर्किन अटेर गरे पनि बसिरहेको स्थानमा जंगल, समुदाय कसैलाई पनि प्रत्यक्ष क्षति नपुर्याएको भन्दै स्थानीय प्रशासनले बल पनि प्रयोग गरेको छैन । तर निगरानी भने बढाइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।