इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा सकस
उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

१३ चैत, काठमाडौं । इटहरीको मेन चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा गम्भीर समस्या भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।
आगलागी नियन्त्रणका लागि चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । सेन्टर प्लाजामा होटल बरण्डा र लक्ष्मी सनराइज बैंक लगायत दर्जनौं व्यवसाय संचालनमा रहेको छ ।
स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।
इटहरी उपमहानगरपालिका-६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।