सर्ने भयो आयल निगमको सिनामंगल डिपो
५ मंसिर, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।
साउन २०८१ मा मन्त्रिपरिषद्ले डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ ।
यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले बताएका छन् । जुन स्थान यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंकको खर्चमा विदेशी परामर्शदाताबाट अध्ययन गराई उपयुक्त भनी तोकिएको स्थान हो ।
आगामी तीन वर्षभित्र डिपो सारिसक्ने योजना भएको यादवले बताएका छन् । यसअघि डिपो सार्न भारतीय सहयोग लिनेबारे छलफल चलिरहेको थियो तर, स्वदेशी लागतमा नै संरचना बनाउन सकिने भन्दै यादवले तोकिएको समयभित्र निर्माण सकिने बताए ।
विमानस्थल नजिकै रहेको इन्धन डिपो हवाई सुरक्षा मापदण्डका दृष्टिकोणले जोखिमयुक्त रहेको भन्दै सार्नुपर्न माग प्राधिकरणले गरेको तर निगमले अटेर गर्दै आएको थियो ।
५० वर्ष इतिहास बोकेको सिनामंगलस्थित डिपो अब भने अत्याधुनिक प्रविधियुक्त बनाइने उनले बताए ।