रविलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो
‘उहाँको केही गुनासो र माग हामीलाई गर्नु भएको छैन’ भण्डारीले भने, ‘हामी आफ्नै स्वविवेकले उहाँलाई ४ नम्बर ब्लकमा एक्लै राखेका हौं ।’

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने कारागार चलान भएका छन्। उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए ।
लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’ उनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ।
जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ,पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ ।’
कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारी बताउँछन् । ‘उहाँको केही गुनासो र माग हामीलाई गर्नु भएको छैन’ भण्डारीले भने, ‘हामी आफ्नै स्वविवेकले उहाँलाई ४ नम्बर ब्लकमा एक्लै राखेका हौं ।’