भक्तपुरमा सिन्दुर जात्राको रौनक
बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू भएको थियो ।

भक्तपुरको मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा अति प्रसिद्ध जात्रा हो ।
थिमिमा मात्र मनाइने सिन्दुर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू भएको थियो ।
जात्रा सुरू भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।
यसैगरी विष्णुवीर,सिद्धिकालीलगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ । जात्रामा बालकदेखि वृद्ध वृद्धासम्म सहभागी थिए । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।
यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।
जात्रा प्रत्येक चोक,चौबाटो,घर र टोलमा पुग्दा घरका झ्याल,कौसी र छतबाट सिन्दूर छर्ने,फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा,भुस्याबाजा,धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने,आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।